logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

योग्यता प्रणालीका आधारमा गतिशील, प्राज्ञिक, स्वतन्त्र एबम निर्णायक व्यक्ति त्रिवि को उपकूलपति छानिनु पर्छ -प्रा डा नन्दबहादुर सिंह

img
योग्यता प्रणालीका आधारमा गतिशील, प्राज्ञिक, स्वतन्त्र एबम निर्णायक व्यक्ति त्रिवि को उपकूलपति छानिनु पर्छ -प्रा डा नन्दबहादुर सिंह

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकबाट सम्भवत ईतिहासमै पहिलो पटक दरखास्त पेस गर्न आह्वान गरिए पछि जम्मा ४३ जनाको निबेदन परेको छ । विश्वविद्यालय सम्बन्धि सोच पत्र तथा चार बर्षे व्यवसायिक कार्ययोजना सहित आवेदन दिएका ४३ प्रतिस्पर्धी मध्ये अब्बल मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति प्रा डा नन्दबहादुर सिंहसंग कलेज रिडर्स का सिईओ जीतेन्द्र घिमिरेले गरेको कुराकानीको सम्पादित अंश :

जीतेन्द्र घिमिरे : अहिले त्रिभुवन विश्वविद्यँलयमा उपकुलपति नियुक्तिको लागि जुन प्रावधान ल्याइएको छ त्यो प्रावधानले उपकुलपति नियुक्ति स्वच्छ तरिकाले हुन्छ भनेर कसरी विश्वस्त हुन सकिन्छ?

प्रा डा नन्दबहादुर सिंह : सर्वप्रथम त सम्माननीय प्रधानमन्त्रीले राजनीतिक भागबण्डाको आधारमा नभई योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुनु पर्दछ भन्नु भएको छ , यो एकदमै सकरात्मक सन्देश हो । देश तथा विदेशबाट योग्यता पुगेकाले आवेदन दिन सकिने भन्ने सन्देशले एकदमै उत्साहित भएका छाँै तर यसका लागि जुन मापदण्ड तय गरिएको छ त्यसलाई तत्काल परिमार्जन गर्नु पर्दछ । ७० प्रतिशत प्राज्ञिक हुनुपर्दछ भने अरु बाँकी सोचपत्र, व्यवसायिक कार्यपत्र, प्रस्तुतिकरण र अन्तरवार्ता ३० प्रतिशत हुनुपर्दछ । एउटा किताब आइ एस बि एन त्रिवि बाट निकालेको हुनुपर्छ भनिएको छ तर आईएस बि एन संसारको जुनसुकै ठाउँबाट पनि लिन सकिन्छ । किताब पनि कस्तो स्तरको हुनु पर्छ त्यो खुलाउनु पर्छ त्यस्तै छनौट प्रक्रियामा उपप्राध्यापकले कसरी प्राध्यापकको छनौट गर्न सक्छ त ? यहाँ प्रोटोकललाई ध्यान दिनु पर्ने हो । छनोटमा योग्य व्यक्ति हुनु पर्दछ ।

जीतेन्द्र घिमिरे : तपाई मध्य पश्चिम विश्वविद्यालयको उपकुलपति पनि हुनुहुन्छ । त्यहाँ उपकुलपति हुदाँ हुदै त्रिभुवन विश्वविद्यालयको उपकुलपति मा तपाँईले आवेदन दिनुभएको के के परिवर्तन गर्नका लागि होला ?

प्रा डा नन्दबहादुर सिंह : मैले २८ बर्ष भन्दा बढी त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरिसकेको छु । मलाई यस विश्वविद्यालयको कुना कुना सबै कुरा थाहा छ । म मध्य पश्चिम विश्वविद्यालयको उपकुलपतिमा मेरो उत्कृष्ट भिजन तथा कार्य योजनाहरु पेश गरेर २३ जना मध्यबाट छनौट भएको हुँ । म भिजन अनुसार काम गरि नतिजा निकाल्ने व्यक्ति हुँ । अहिलेको २१ औं शताब्दीमा समुह बनाएर त्यही भावनामा काम गर्नु पर्दछ । मैले मध्यपश्चिम विश्वविद्यालयमा साढे तिन बर्षमा आमुल परिवर्तन ल्याएको छु । भौतिक संरचनाहरु अन्तर्गत आधुनिक कक्षा कोठाहरु, पुस्ताकालय, क्यान्टीन, साईन्स तथा कम्प्युटर ल्याबहरु छन । त्यस्तै शैक्षिक कार्यहरुमा नयाँ नयाँ योेजना ल्याएको छु । आत्म निर्भर भएर जाने विद्यार्थीलाई पढ्दै काम गर्दे जाने योजना लागु गरेको छु । दुई तारे होटल, हर्वल प्रोसेसिगं युनिट, मोलिक्युल ल्याब देखि लिएर जिनेटिक ल्याब अनी बायो डाइर्भसिटि ल्याब बनेका छन । सबै भन्दा महत्वपूर्ण कुरा अर्को २१ औं शताब्दीको नेपाललाई चाहिने पाठ्यक्रम लागु गरेको छु । अन्तर्राष्टिय विभिन्न विश्वविद्यालय तथा संस्थाहरुसँग सहकार्यका लागि सम्झौता गरेका छाँै । यदि म त्रिभुवन विश्वविद्यालयको उपकुलपति भएमा चारै तिर बाटो बनाई चक्रपथ बनाउने देखि लिएर नयाँ नयाँ खालका भिजनलाई कार्यरुप दिइ एकदमै राम्रो नतिजा ल्याउने छु । मैले अर्कोलाई पैसा तिरेर भिजन तथा कार्य योजना लेख्न लगाई आफनो नाम राखी उपकुलपति बन्न खोजेको व्यक्ति होइन । म तपाँईको प्रश्नमा चुनौति दिन्छु कि भिजन, कार्य योजना के हो भनेर प्रस्तुत गर्न लगाउँनुस म पेपर नहेरी सरासर सबै बताईदिन्छु । ४ बर्षको कार्य योजना बताईदिन्छु । त्यसैले म जस्तो योग्य व्यक्तिले त्रिभुवन विश्व विद्यालयको उपकुलपति भएर १६ घण्टा टीम बनाएर काम गर्न सक्ने आफ्नै कार्य भिजन र नतिजामुखी उपक्रमले मात्र विश्वविद्यालयलाई सुधार गर्न सक्दछ ।

जीतेन्द्र घिमिरे : प्राय नेपालका उपकुलपतिहरुको कार्य गर्ने क्षमता र योग्यता भएर पनि खुट्टा तान्ने प्रवृत्तिले कार्यहरु गर्न नसकेको पनि छ नि ?

प्रा डा नन्दबहादुर सिंह  : यस सम्बन्धमा तिन वटा कुराहरु पर्दछन् । पहिलोमा, विश्वविद्यालयमा उपकुलपति हुने व्यक्तिले म कुनै पार्टीको होइन भनेर स्वघोषणा गर्नुपर्दछ । दोस्रो, विश्वविद्यालय सँग आफनो स्वार्थको द्वन्द्व छैन भन्नु पर्दछ किनभने यहाँ व्यापार गरेर आएका व्यक्ति पनि उपकुलपति हुन खोजेका छन । तेस्रोमा, विश्वविद्यालयको उपकुलपतिले टिम बनाई कार्य गर्न पाउने र कार्य दक्षता मूल्याङ्कन अनुसार विश्वविद्यालयको रेक्टर, रजिष्ट्रार सबैलाई परिवर्तन गर्ने अधिकार उपकुलपतिलाई दिनुपर्दछ । त्यस्तै विश्वविद्यालयलाई संघीयता अनुसार विकेन्द्रीकरण गर्नु पर्दछ । परीक्षा प्रणाली परिवर्तन गर्नु पर्छ । विश्वविद्यालय अनुदान आयोगले तयार गरेको राष्टिय शैक्षिक पात्रो लाई कडाईका साथ पालना गर्नु पर्दछ र त्रिभुवन विश्वविद्यालय लाई डिजिटल युनिर्भसिटि बनाएर अगाडी बढाईयो भने विश्वविद्यालयको गेट भित्र आउँदा खेरि नै पढ्ने वातावरणको अनुभुति गराउने हुन्छ । 

जीतेन्द्र घिमिरेः नेपालका अन्य विश्वविद्यालयको तुलनामा त्रिभुवन विश्वविद्यालको भौतिक संरचना र विद्यार्थी संख्या धेरै नै देखिन्छ तर विडम्बना विद्यार्थी बाहिरिने क्रम एकदमै तीब्र छ, यदि यही क्रम जारी भयो भने विश्वविद्यालय खाली हुने स्थििति पनि आउन सक्छ । यो विकराल समस्यालाई तपाईले कसरी लिनु हुन्छ ?

प्रा डा नन्दबहादुर सिंह : जसरी त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागवण्डा र खिचातानी सुरु भयो यसले युवा पुस्तामा नैरास्यता उत्पादन भयो । नेपालमा अवसर छैन त्यसैले नेपालीहरु पढ्न र काम गर्न बिदेसिए । २०६५ देखि २०८० साल सम्म ६ लाख ३३ हजार ४ सय १८ जना बिदेश पढ्न जाँदा देशको आधा बजेट बाहिरिएको छ । अहिले आएर सम्माननीय प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुनको लागि कुनै पनि राजनितिक दलको सदस्यता नभएको हुनु पर्दछ भन्नु भएको छ, यो कदम एकदमै स्वागत याग्य छ तर यसलाई व्यवहारमा उर्तानको लागि म बिनम्र अनुरोध गर्दछु । दश बाह्र बर्ष देखि मात्र त्रिभुवन विश्वविद्यालयको अवस्था लथालिङ्ग भएको होइन, नेपालमा बहुदल आए देखि बिग्रन थालेको हो । 

अब नेपाली युवाहरु विदेश पढ्न र काम गर्न जाने क्रम रोक्नको लागि योजना आयोगले सम्पुर्ण विश्वविद्यालयका उपकुलपतिहरुलाई यस्ता किसिमका जनशक्ति चाहियो भनेर उत्पादन गर्न जिम्मा दिनु पर्दछ त्यो पनि सिपमुलक जनशक्ति अनि देशमा सम्बृद्धी र शान्ति हुन्छ । त्यसै गरी देशका सातै प्रदेशमा हरेक प्रदेशको पहिचान बुझेर औद्योगिकरण हुनु पर्दछ । कम्तिमा प्रत्येक प्रदेशलाई एउटा एउटा बिषयको औद्योगिकरण गर्दा कम्तीमा ७ वटा वस्तुको औद्योगिकरण हुन्छ । मैले विदेशी कुनै समयका गरिब मुलुकहरु तीव्र गतिमा कसरी विकास भएका हुन त्यो अध्ययन गरेर भन्दै छु । जस्तो कि हाम्रो देश बराबरको कृषि क्षेत्रमा कृषि औद्योगिकरण गरी २० करोड भन्दा बढी जनतालाई खान पुगेको छ भने हामी ले त्यो भिजनबाट कार्य गरयौ भने ३ करोड जनसंख्यालाई खान सजिलै पुग्दछ । म त सिङ्गो देश बनाउँछु भनेर लागेको हुँ, एउटा विश्वविद्यालय नबनाउँला र ? मैले संसारका कैयौ विश्वविद्यालयमा भिजिटिगं प्रोफेसर भएर काम गरेको छु । अन्तरराष्टिय विश्वविद्यालयबाट पिएच डि गरेको छु । प्रोफेसरले देश र जनताको परिवर्तनका लागि समय दिनु पर्दछ तर नेपालका प्रोफेसरलाई इनोभेसन र प्रतिलिपि अधिकार को जिम्मा नदिई मृत्युको मुख कुरेर बस्नु परेको छ । विदेशमा भर्खरै खुलेका विश्वविद्यालयले लाखौं विधार्थी र सयौ प्रतिलिपि अधिकार लिई सकेका छन । नेपालमा चार पाँच वटा मात्र प्रतिलिपि अधिकार लिएका छन । नेपाली विद्यार्थीहरु ५६ वटा नयाँ विषयहरु पढ्न विदेश जाने गर्दछन । अब विश्वविद्यालयले ति विषयका पाठ्यक्रम तयार गरी लागू गर्न पर्दछ । हरेक दश बाह्र वर्षको अन्तरालमा पाठ्यक्रम परिवर्तन गर्नु पर्छ ।

जीतेन्द्र घिमिरे : अहिले तत्काल हेर्ने हो भने त्रिभुवन विश्वविद्यालय लथालिङ्ग भएको छ । यदि तपार्इँ यस विश्वविद्यालयको उपकुलपति हुनु भयो भने ४ वर्षमा कस्ता कस्ता परिवर्तन ल्याउँनु हुन्छ ?

प्रा डा नन्दबहादुर सिंह : ६ महिना भित्रमा नतिजा देख्न सुरु हुनेछ । विश्वविद्यालयमा एक प्राज्ञिक वातावरण निर्माण गर्नेछु । चारै तिर बाटो हुनेछ । ठाउँ ठाउँमा विद्यार्थीले पढ्ने कर्नर हुनेछ । विभिन्न विषय तथा सङ्काय अनुसारका बगँैचाहरु बनाइनेछ । कक्षा कोठाको सरसफाईमा ध्यान दिईनेछ । आधुनिक ल्याबहरु, सफा शौचालयहरु, आधुनिक लाईबे्ररी, क्यान्टीन, खेल मैदानहरु साथै अन्य शैक्षिक तथा भौतिक संरचनाहरु बनाईनेछ । तर यहाँ बौद्धिक चोरि हुने गर्दछ । एउटाले आफना भिजनहरु मिडियामा बताउँछ त्यसैलाई अरुले चोरेर मैले भनेको हुँ भनेको पाईन्छ । बिदेशमा यस्तो गरेको पाइएमा कानूनी कारबाही हुन्छ । भर्खरै हार्वार्ड विश्वविद्यालयको प्रेसिडेण्ट क्लाउडिन गे ले राजिनामा दिनुपरयो किनकी उनलाई बौद्धिक चोरीको आरोप लागेको थियो ।

जीतेन्द्र घिमिरे : तपाईलाई के लाग्छ, स्वच्छ तवरले उपकुलपतिको छनौट होला ?

प्रा डा नन्दबहादुर सिंह : छनौट मापदण्ड हेर्दा विश्वस्तरको उपकुलपति को लागि आवश्यक मापदण्ड छैनन् तर प्रधानमन्त्रीले स्वच्छ छवि भएको प्रतिस्पर्धाबाट उत्कृष्ट ठहरिएको व्यक्तिलाई उपकुलपति नियुक्त गरिने भन्नु भएकोले स्वच्छ हुनेछ भन्नेमा आशावादी छु । 

जीतेन्द्र घिमिरे : अन्तमा केही भन्नु छ ?

प्रा डा नन्दबहादुर सिंह : रात दिन विश्वविद्यालय सुधारका लागि एक कोर टिम भयो भने परिवर्तन गर्न नसक्ने कुरा केही पनि छैन । त्यो कोर टिमका लागि रेक्टर, रजिष्टार तथा अन्य पदाधिकारी पनि उपकुलपति जस्तै प्रतिस्पर्धाबाट आउनु पर्दछ ।

img
img