logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

प्याब्सन महाधिवेशन : आफ्नो पेशा र कार्यमा गौरव गर्न सक्ने बनाउँछु

img
प्याब्सन महाधिवेशन : आफ्नो पेशा र कार्यमा गौरव गर्न सक्ने बनाउँछु

काठमाडौं, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को १५औं राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका लागि कृष्ण प्रसाद अधिकारीले उम्मेदवारी दिनु भएको छ । चैत ९ र १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा १५औं राष्ट्रिय महाधिवेशन हुन गइरहेको अवस्थामा लामो समयदेखि प्याबसनमा आवद्ध भएर काम गरिरहनु भएका भ्याली पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल कृष्ण प्रसाद अधिकारीसँग खबर एजुकेसनले गरेकोे संवाद ।प्याब्सनको १५ औँ राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिनु भएको छ । तयारी कस्तो छ ?


तयारी निकै राम्रो गरीरहेकोे छु । मलाई सहयोग र सपोर्ट गर्ने साथीहरु पनि मलाई सहयोग गर्न र वरिष्ठ उपाध्यक्षमा ल्याउनका लागि कस्सिएर लाग्नु भएको छ । प्याब्सनमा लामो समयसम्म रहेको व्यक्तिलाई नेतृत्वमा ल्याउनका लागि सहयोग गर्छौ भन्दै लागि रहनु भएको छ । निश्चय पनि मेरो उदेश्य, विचार र कार्यक्रमसँग सबै साथीहरु परिचित हुनुहुन्छ त्यसैले पनि मलाई साथीहरुको राम्रो सहयोग देखेको छु । मेरो उम्मेदवारीको तयारीसँगै राष्ट्र भरीबाट साथीहरु आउने भएको हुँदा र प्याब्सनको महाधिवेशन महत्वपूर्ण रहेकाले महाधिवेशन सफल बनाउनका लागि म लागिरहेको छु ।


यसै विचमा सुनसरीमा प्याब्सनले निर्माण गरेको २५ वटा घरहरुको हस्तान्तरण गरियो त्यसमा पर्दा राख्ने र बगैँचा बनाउने जिम्मा मैले लिएर काठमाडौं फर्केको छु । अर्को प्याब्सनको स्मारिका निकाल्ने कार्यक्रमको पनि मैले जिम्मा लिएको छु । यसअर्थ प्याब्सन महाधिवेशन र मेरो तयारी राम्रोसँग अगाडि बढेको छ ।


नेतृत्वमा जानका लागि जतिपनि उम्मेदवार हुनुहुन्छ सबैको भनाई प्याब्सनको आफ्नै भवन लिएको मात्र कुरा गर्नुहुन्छ । तर, दुरदराजमा भएर रुग्ण अवस्थामा रहेका विद्यालय प्रतिको चासो कम देखियो । यहाँको चासो ति विद्यालय प्रति छ की छैन ?


अहिलेको नेतृत्वले पनि राजधानी बाहिर रहेको विद्यालय प्रति विचार नराखेको र कोभिडका कारण आर्थिक अवस्था कम्जोर भएका विद्यालयका लागि नसोचेको होइन । विद्यालयलाई अफ्ठेरो परेको महसुस गरेकै कारण बैंकसँग सहुसलियत रुपमा ऋण दिने व्यावस्था गरीएको छ । अझ धेरै अफ्ठेरोमा भएका विद्यालयहरुलाई मर्जर गरेर भएपनि प्रिन्सिपललाई वचाउनुपर्छ भनेर मर्जरको नितीमा जानका लागि पनि आग्रह गरेका छौँ ।


तर, महत्वपुर्ण के हो भने आठ दश अर्बको लगानि रहेको यो क्षेत्रले ३० प्रतिशत भन्दा बढी राष्ट्रको शिक्षा क्षेत्र ओगटेको छ । २ लाख ५० हजार शिक्षक कर्मचारीहरुले रोजगार पाएका छन् । करीब ३० लाख विद्यार्थीहरुले हामीसँग पढ्दै छन् भने त्यो संस्थाको एउटा आफ्नै भवनको पनि आवश्यकता देखिएकाले लिएका हौँ । किनभने हामीले अनुसन्धान गर्न, तथ्याङ्क राख्न, त्यहाबाट हाम्रा विद्यालयहरुलाई कसरी सहयोग गर्न सकिन्छ योजना बनाउन, नेपाल सरकारले दिएको तालिम निशुल्क कसरी दिलाउन सकिन्छ भन्ने र अभिभावकहरुलाई विद्यालयसम्म कसरी जोडन सकिन्छ भन्ने लगायतका उदेश्यहरुलाई पुरा गर्ने जस्ता कामहरु सञ्चालनका लागि भवनको आवश्यकता भयो र लिएका हौँ ।


त्यसैगरी यो देश भरीका निजी विद्यालयहरुको संगठन भएका कारणले केही कामहरु नदेखिएको हुनसक्छ । तर, प्याब्सन शहरमा भन्दा गाउँ, दुरदराजका विद्यालयहरु प्रति केन्द्रीत छ । साना विद्यालयहरुलाई माथि उठाउन बढी लागेको छ भन्ने अनुभुति पाउनुहुन्छ तर परिवर्तन देखिन एक दुई वर्ष लाग्छ ।


वरिष्ठ उपाध्यक्षका लागि तिन जनाको मनोनयन परेको छ । तपाइलाई नै वरिष्ठ उपाध्यक्षमा ल्याउनुपर्ने कारण के छ ?


मैले म मात्रै योग्य कहिलै पनि देख्दिन सबै उत्तिकै काबिल हुनुहुन्छ । एउटा विशेषता दीपिका दिदीमा पनि छ र एउटा विशेषता गोपाल आचार्य सरमा पनि छ उहाँहरु दुबैले आ आफ्नो जिम्मेवारी हेर्नु भएकै छ । त्यसैगरी एउटा विशेषता म मा पनि छ । मैले पुरै प्याब्सन सहित विदेश विभाग हेरे । ५१ जना प्रिन्सिपल र १ सय ७८ जना विद्यार्थीलाई लगेर विदेश घुमाए । मैले अन्तराष्ट्रिय स्तरका विद्यालय बनाउनु पर्छ भन्ने विचार साथीहरुसँग राख्दै आएको छु ।


साथै प्याब्सनको भवन बनाउनुपर्छ भनेर चन्दा र पैसा उठाउने कामका लागि निरन्तर खटे । प्याब्सनमा अब झन धेरै कुरा लगानि गर्नुपर्ने र समय धेरै दिनुपर्ने अवस्था आएको छ । मैले चारवटा विद्यालयहरुलाई स्थापित गरीसकेको छु । मलाई विद्यालयमा बसेर काम गर्नुपर्ने अवस्था छैन । त्यसैले मेरो अर्थ, विचार, समय सबै प्याबसनलाई दिन सक्छु । म सँग हुने साथिहरु भाडाको विद्यालयमा हुनुहुन्छ । उहाँहरुले विद्यालयलाई समय दिनुपर्ने छ । उहाँहरुको विद्यालयमा शिक्षकहरुको तलव वृद्धि गर्नुपर्ने छ । विद्यार्थीहरु बढी भर्ना गर्नुपर्ने छ । उहाँहरुको पनि त्यतिकै आवश्यकता रहे पनि उहाँहरुले भन्दा प्याब्सनलाई बढी समय मैले दिन सक्छु ।


वुद्धि, विचार सबैको बराबर हुनसक्छ तर त्यसले मात्रै पुग्दैन प्याब्सनमा समय दिनु पर्ने हुन्छ, पैसा उठाउन पनि सक्नपर्छ, ऋण तिर्न पनि सक्नु पर्यो, प्याब्सनको भवन बनाउन पनि सक्न पर्यो, दुरदराजका विद्यालयहरुलाई पनि बोलाउन सक्नु पर्यो, बोलाएर राख्न सक्नु पर्यो, परेको बेलामा खुवाउन सक्नु पर्यो, कुनै स्कुलको बस पल्टेर अफ्ठेरो परेको बेला त्यहाँ गएर बोल्न सक्न पर्यो । यस्ता खालका धेरै काम गर्नसक्ने र प्याब्सनलाई योगदान दिन सक्ने मान्छे वरिष्ठ बन्न सक्छ । त्यसकारण उहाँहरु राम्रो हुँदाहुँदै पनि उहाँहरुको भन्दा बढी समय, विचार प्याब्सनलाई दिएर कमाण्ड गर्न सक्ने क्षमता भएका कारणले मैले वरिष्ठमा उम्मेदवारी दिएको हुँ ।


बुँदागत रुपमा भन्नु पर्दा तपाइको उम्मेदवारी किन ?


१. २०५१ साल देखि निरन्तर प्याबसनका बिभिन्न पदमा बसेर कामको अनुभव उपयोग गर्न । सम्पुर्ण विद्यालयहरुलाई नेपाल सरकारले तोकेको नियममा निर्धक्कसँग स्कुल सञ्चालन गर्न र आफ्ना पेशा र कार्यमा गौरव गर्न सक्ने बनाउन प्याब्सनलाई राजनीतिबाट पर राख्न र पक्का सामाजिक संस्थाको आभाष आउने अन्तराष्ट्रिय संस्था बनाउन ।


२. जग्गा किन्दा गरेको ५,००,००० सहयोग र भवन खरिदमा गरेको १०,००,००० सहयोगबाट बनेको भवनमा बसी तालिम ,परीक्षा, पाठ्यक्रम, अनुसधान,तथा २१ औं शताब्दीको शिक्षालाई नेपालका निजी क्षेत्रमा स्थापित गराउन ।


३. मेरो विदेश भ्रमण र बसाईलाई साथै शैक्षिक कार्यलाई उपयोग गरी उच्च कक्षाका विद्यार्थी तथा विद्यालय सञ्चालनलाई विदेशमा तालिम गराउने र दक्ष तथा अनुभवी बनाउने ।


४. संस्थापक अध्यक्ष हुँदै आजसम्म अध्यक्षको पदमा बसेर प्याब्सनलाई यस अवस्थामा पु¥याउन अध्यक्ष ज्युको उक्त कामको स्मरण गर्दै अध्यक्ष टिकाराम पुरी र सह अध्यक्ष डिके ढुङ्गानाले प्याब्सनमा थालेको कार्यलाई सफल र स्थापित गराउन ।


५, राष्ट्रभरिका प्याबसनका विद्यालयलाई आफु जन्मेर सेवा गरेको भूमिबाट दिनैपर्ने सुविदा गाडि खरिद, भौतिक सामाग्री खरिद तथा निर्माण सस्तो ऋणको व्यवस्थापन गराउन । कोभिडबाट बन्द भएका ,चल्न नसकेका विद्यालयका बारेमा उपयुक्त विधि सहितको कार्यले विद्यालय र विद्यालयका सदस्यलाई प्नर्जीवन व्यवस्थाको कार्य प्याब्सनबाट गराउन ।


माथिका बुँदाहरुमा रहेर काम गर्ने छु र विगत लामो समयदेखि प्याब्सनमा रहेर काम गरिरहेको पनि छु ।


तपाइ स्वदेश भन्दा बढी विदेश बस्नु हुन्छ त्यसकारणले प्याब्सनमा धेरै समय दिन सक्नु हुन्न भन्ने आरोप छ । यसमा के भन्नु हुन्छ ?


त्यहि भएर अहिलेसम्म म अध्यक्ष भइन । विदेश तिर गए नेपालमै सहयोग गरे । साच्चिकै भन्ने हो भने नेपालमा बसेका केन्द्रीय कार्य समितिका सदस्य र मेरो बैठकमा उपस्थिति को बढी भएको छ त ? कामको कुरा गर्ने हो । अहिलेको जमानामा पनि त्यो पनि निजी स्कुलका प्याब्सनमा आवद्ध भएका मान्छेले यो विदेश जान्छ भनेर कुरा उठाउने हो ? म स्याङजा पनि त्यत्तिकै गएको छु । २२ वटा विद्यालयहरुमा इन्टरनेट दिएको छु, १ सय ७८ वटा धारा बनाएको छु, २ सय जना महिलाहरुलाई माइक्रोफाइनान्सबाट लोन दिएको छु । म काहाँ अमेरीका मात्र गएको छु ? म त काम गर्ने मान्छे हो । प्याब्सनमा मेरो उत्तिकै योगदान छ । यो भनेको आरोप मात्र हो ।


मेरा छोराछोरी पनि पढाई सकेर नेपाल फर्कदै छन्, विद्यालय उनिहरुले नै हेर्ने हो । म आर्थिक रुपमा कम्जोर छैन, व्यावसयिक रुपमा कम्जोर छैन अबको प्याब्सनको अध्यक्ष पनि मै हो । सम्पुर्ण स्कुलहरुको संरक्षण गर्न सक्ने क्षमता पनि म सँग छ । त्यसकारण मान्छेले यो विदेश जान्छ, यो घरमा बस्छ भनेर आरोप लगाउने काम मात्र गर्नु सारै सानो सोच भएकोहरुले लगाएको आरोप हो । जब विदेश गइन्छ तब राम्रो विचार आउछ त्यसकारण पनि मेरो विद्यालय राम्रो भएको हो ।

 

img
img