काठमाडौं, आज विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभरका पत्रकारहरुले मनाउँदै छन् । प्रेस स्वतन्त्रताको सम्बन्धमा जति उजागर भइरहेको छ त्यो सँगै यस माथि विभिन्न पक्षहरुले दमन गरिरहेका छन् । रिपोर्टस् विथआउट बोर्डर्सका अनुसार विश्वका २० प्रतिशतमात्र देशमा प्रेस स्वतन्त्रता छ । अन्य सबै देशमा प्रेस स्वतन्त्रतामाथि अंकूश लगाइएको छ ।
त्यसैगरी ४० प्रतिशत पत्रकारले आफ्नो देशमा प्रेस स्वतन्त्रतामा कमी हुँदै गएको बताएका छन् । त्यस्तै ४५ प्रतिशतले आगामी तीन वर्षभित्र आफ्नो देशमा प्रेस स्वतन्त्रता थप घट्ने शंका व्यक्त गरेका छन् । रिपोर्टस् विथआउट बोर्डर्सका अनुसार पाँच वर्षमा मेक्सिकोमा मात्रै ४७ पत्रकारको ज्यान गएको छ । अनलाइनहरुले पनि थुप्रै हिंसा खेप्नु परेको छ । युनेस्को र इन्टरनेशनल सेन्टर फर जर्नालिष्ट्स (आईसीएफजे) का अनुसार पत्रकार महिलाको स्थिति अझ जटिल रहेको छ । ७३ प्रतिशतका अनुसार उनीहरुलाई अनलाइन भ्वाइलेन्स (हिंसा) को सामना गर्नुपरेको छ । २५ प्रतिशतलाई शारीरिक आक्रमणको धम्की दिइएको छ भने १८ प्रतिशतका अनुसार उनीहरुलाई यौन शोषणको धम्की दिइएको छ ।
नेपालमा पनि कुनै दिन मात्र गरिने कार्यक्रमले पत्रकारहरुलाई सुरक्षित गराएको देखिदैन् । विभिन्न घटना क्रमले गर्दा जुनसुकै क्षेत्रका पत्रकारहरु एकजुट हुनुपर्ने आवश्यकता एकदमै देखिन्छ । नेपालमा प्रायः कुरिति, भ्रष्टचार तथा अन्य नराम्रा क्रियाकलापहरुको बारेमा समाचारहरु बनाई बाहिर ल्याउँदा पत्रकारहरु असुरक्षित भईरहेका छन् । हरेक जनतालाई सुचना तथा समाचारको हक दिनु पर्नेमा राज्य पक्ष लगायत अरु सम्बन्धित पक्षहरु पनि लागि पर्नु पर्ने अत्यावश्यक देखिन्छ ।





















