logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

महासचिव पोखरेललाई महेश बस्नेतको चुनौती

img
महासचिव पोखरेललाई महेश बस्नेतको चुनौती

काठमाडौं । एमालेको प्रभावशाली जनवर्गीय संगठन युवा संघ चरम विवादमा फसेको छ । फागुन ११ गते महाअधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेर आयोजक कमिटी बनाउने बेलामा युवा संघभित्र पोलिटव्यूरो सदस्य महेश बस्नेत हावी भएपछि विवाद उत्पन्न भएको हो । संघमा विवाद उत्पन्न भएपछि धेरै जसो नेताहरुले केन्द्रीय कमिटी बैठक नै बहिष्कार गरेर निस्केका थिए । तीन दिनअघि पोखरामा केन्द्रीय कमिटीको बैठक बोलाएको युवा संघको बैठकमा महेश बस्नेतले केपी शर्मा ओलीकै शैलीमा खल्तीबाट नाम झिकेर पढ्न थालेपछि विवाद भएको थियो । 

युवा संघको बैठकमा विवाद भएपछि पार्टी महासचिव शंकर पोखरेलले सबैलाई मिलाएर बैठक सञ्चालन गर्न र आयोजक कमिटी बनाउन दिएको निर्देशनलाईसमेत बस्नेतले बेवास्ता गर्दै महाआयोजक कमिटीको संयोजकमा किरण पौडेल, सहसंयोजक सञ्जीब झा, क्रान्ति बुर्लाकोटी कार्यालय सदस्यमा कृष्णहरी केसी लगायतको नाम घोषण गरेर आएपछि असन्तुष्ट रहेका युवा संघका नेताहरुले बस्नेतकै कारण विवाद भएको भन्दै उजुरी गरेका छन् ।‘महासचिव पोखरेलले दिएको निर्देशनलाई बस्नेतले वास्ता गरेनन्, उनी पार्टी र संगठनभन्दा माथि देखिएका छन्, युवा संघ उनको नीजि कम्पनी होइन’, असन्तुष्ट रहेका एक नेताले भने ।

  
उनीहरुले शनिबार साँझ संगठन विभाग प्रमुख खगराज अधिकारीलाई भेटेर बस्नेतको एकाधिकारवादबारे जानकारी गराएका छन् । साथै उनीहरुले महेश बस्नेतकै कारण संगठन वैचारिकरुपमा धरापमा परेकोसमेत बताएका थिए । 

उपाध्यक्षहरु रोशन बस्नेत, अमित लामा, उर्मिला सुनुवार, किरण गौतम, उज्ज्वल घिमिरे, रमेश तिवारी सचिव कुमार हुँमागाई, सुमित्रा बोगटी लगायतका दुई दर्जन नेताहरुले बैठक बहिष्कार गरेर मोर्चा संगठन विभाग प्रमुख भानुभक्त ढकाल, संगठन विभाग खगराज अधिकारीलाई जानकारी गराएका छन् । उनीहरुले आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरसमेत जानकारी गराउने भएका छन् । ‘महेश बस्नेतको प्राइभेट कम्पनी जस्तो बनाउन खोजियो युवा संघ उनको कम्पनी होइन, प्रतिनीधि छनोटदेखि महाधिवेशन आयोजक कमिटी गठनसम्म उनी हाबी भए, संघ अध्यक्ष किरण पौडेलचाहि बस्नेतका सहयोगी मात्रै देखिए’, बहिष्कार गरेका एक नेताले भने । बैठक बहिष्कार गरेर आएक नेताहरुले आयोजक कमिटीमा राखिएका नाम नसच्याए आइतबार पत्रकार सम्मेलन गरेर समानान्तर कमिटी बनाउने जनाएका छन् । ‘अहिले संगठन विभाग प्रमुखलाई भेटेर सबै जानकारी गराएका छौ भोली पार्टी अध्यक्षलाई भेट्नेछौ र उहाँले के भन्नुहुन्छ हेरौं त्यसपछि महेश बस्नेतका विरुद्ध पार्टीभित्र लडाइ गर्नुपर्ने अवस्था आएमा त्यसको तयारी गर्नेछौ’, असन्तुष्ट मध्येका एक नेताले भने ।

 
युवा संघभित्र महेश बस्नेतले आफ्नो हालीमुहाली गर्न थालेपछि रमेश पौडेलहरुको टोली बाहिरिएको थियो । पौडेललाई अहिले खेलकुद महासंघ जिम्मा लगाइएको छ । पौडेलले बस्नेतको विरोध गर्दा उनलाई हटाउन खोजिएको तर पार्टी अध्यक्ष ओलीले नै पौडेललाई युवा संघको अध्यक्षको जिम्मेवारी दिएपछि बस्नेत केही समय बाहिरिएका थिए । तत्कालीन नेकपामा आएको विग्रह र एमाले विभाजन भएपछि भने बस्नेत देशव्यापी माओवादीको विरोध गर्ने र केपीको समर्थनमा माहोल खडा गर्ने काम गरेका थिए । 

त्यसपछि उनी युवा संघमा हावी भएका हुन् । उनी हावी हुन थालेपछि पौडेललाई युवा संघबाट बाहिर राखिएको थियो । पौडेल अहिले एमाले केन्द्रीय सदस्य भएका छन् । 

एमालेको दशौं महाधिवेशमा प्रतिनिधि छनोटमा बस्नेत हावी हुँदा विवाद भएको थियो । 

अहिले पनि केही व्यक्तिहरु होटलमा बसेर बैठकका निर्णय गर्ने र सचिवालय बैठकसमेत नराखी पास गराउन खोजेपछि विवाद भएको युवा संघका असन्तुष्ट नेताहरुले दावी गरेका छन् ।

img