गत साता एक दिन बिहानै राज्यको सिँचाइ विभागका कर्मचारीसहित करिब चार-पाँच जना मानिस सासारामनजिकै रहेको अमियावार गाउँमा पुगे। ग्यासबाट चल्ने काट्नका लागि प्रयोग हुने औजार र खन्नका लागि प्रयोग हुने एक्स्काभेटर लिएर ती मानिस आइएको देख्दा स्थानीवासी खुसी थिए। उनीहरूले लामो समयदेखि हटाउन माग गरिरहेको एउटा पुरानो र प्रयोगविहीन पुल हटाउन सरकारी कर्मचारी आएको उनीहरूले ठाने।
तीन दिनसम्म ती मानिस प्रत्येक दिन बिहान ७ बजे आइपुग्थे र घाम अस्ताउँदासम्म काम गर्थे। उनीहरूले पुलको बाँकी भाग फुकाल्ने, औजारको सहायताले फलाम काट्ने र डोजरले भुइँ खन्ने काम गरे। पुलको फलाम भाडाको गाडीमा ओसारेर एउटा स्थानीय कवाडी सामानको गोदाममा पुर्याइयो। "यो चोरी थियो भन्ने कसैले पनि सोचेन," यो पुलबाट करिब २०० मिटरको दूरीमा बस्ने स्थानीय पत्रकार जितेन्द्र सिंहले भने। "अघिल्लो हप्ता बिहान हिँड्न जाँदा मैले मानिसहरू काम गरिरहेको देखेको थिएँ। गाउँका अरूले पनि देखेका थिए," उनले थपे।
पुल भत्काउने कामको निरीक्षण सिँचाइ विभागकै करारका कर्मचारी अरविन्द कुमारले गरेको आरोप लागेको छ। उनले त्यहाँ सोध्न आउने सबैलाई पुल "भत्काउन स्वीकृति रहेको" बताउने गरेका थिए। पुल चोरीबारे अनुसन्धानको नेतृत्व गरिरहेका वरिष्ठ प्रहरी अधिकारी आशीष भारतीले पक्राउ परेका आठ जनामध्ये अरविन्द पनि एक रहेको जानकारी दिए। "सिँचाइ विभागका अधिकारी राधेश्याम सिंह, भ्यानका मालिक र कवाडी गोदामका मालिकलाई पनि पक्राउ गरिएको छ। हामी अझै चार जनाको खोजी गरिरहेका छौँ," भारतीले भने। (BBC)





















