logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

एमालेले अन्य दलसँग चुनावी तालमेल गर्दै

img
एमालेले अन्य दलसँग चुनावी तालमेल गर्दै

काठमाडौँ , आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनविरुद्ध आफू एक्लै काफी रहेको दाबी गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले अन्ततः धमाधम अन्य दलहरुसँग चुनावी तालमेलको सहमति गर्न थालेको छ । यसअघि एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी एक्लै चुनावमा जाने बताउँदै आउनुभएको थियो । दोस्रो तहका नेताहरुले पनि ओलीको उक्त अभिव्यक्तिलाई मलजल गर्दै आएको थिए । निवर्तमान प्रधानमन्त्री केपी ओलीद्वारा दोस्रो पटक भएको संसद विघटन पनि सर्वोच्च अदालतले पुनः पुनस्थापित गरेपछि बनेको सत्ता गठबन्धनबीच आगामी स्थानीय चुनावमा पनि तालमेल हुने निश्चित भइसकेको छ । गठबन्धनसम्बद्ध दलहरु एजेण्डा र कार्यक्रमबिना एमालेलाई हराउन मात्र लागिपरेकाले आफूहरु पनि स्वभाविक रुपमा सतर्कतापूर्वक अघि बढेको एमाले प्रमुख सचेतक विशाल भट्टराई बताउनुहुन्छ ।

उहाँले सत्ता गठबन्धनबाहेकका अन्य सबै दलसँग चुनावी सहकार्यका लागि संवाद अघि बढेकोसमेत बताउनुभयो । एमालेले आज कमल थापा नेतृत्वको राप्रपा नेपालसँग चुनावमा तालमेल गर्नेगरी सहमति गरेको छ । सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारले एमालेको सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने छन् ।

राप्रपा नेपालसँग तालमेलको चर्चा चल्दा नै राजावादीसँग तालमेल गर्न लागेको भन्दै एमालेको आलोचना भएको थियो । यद्यपि कमल थापाको पार्टीले अहिले राजतन्त्रको एजेन्डा छाडिसकेको छ । कुनै समयको व्यवस्थाविरोधी दल वा व्यक्तिलाई सधैँ एउटै कोणबाट विश्लेषण गर्न नहुने तर्क गर्दै एमाले नेतृ अष्टलक्ष्मी शाक्यले राप्रपा नेपालसँगको तालमेलको बचाउ गर्नुभयो ।

एमालेले आजै नेपाल परिवार दलसँग पनि चुनावी तालमेल गर्ने सहमति गरेको छ । सहमति अनुसार नेपाल परिवार दलका उम्मेदवारहरुले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने छन् । पाँच दलीय गठबन्धनलाई एक–एक किलोको ढकको संज्ञा दिँदै आफू एक्लै क्विन्टलको वजन भएको दाबी गरेपनि एमालेले गठबन्धनबाहेकका दलहरुसँग तालमेलको प्रयास गरिरहेको छ ।

img