काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको बताउनुभएको छ ।
उहाँले ७२औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै २००७ सालको क्रान्त्रिको जगमा उभिएर नै आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको, नागरिक हकअधिकारको उपभोग गर्न पाएको तथा राज्यको सबै तह र संरचनामा आम नागरिकको पहुँच स्थापित भएको भन्दै यसलाई अब सबैले थप सबल र सुदृढ तुल्याउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
“वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ । यसका लागि २००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२/६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ”, प्रधानमन्त्री देउवाको शुभकमाना सन्देशमा भनिएको छ । विसं २००७ मा भएको प्रजातन्त्र प्राप्तिको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्व राख्ने क्रान्ति भएको उहाँले उल्लेख गर्नुभएको छ ।
यसैको जगमा त्यसपछि विभिन्न क्रान्तिहरू सम्पन्न भई आज लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन प्रणालीसम्मको यात्रा पूरा गरेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले आजको दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हक अधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय रहेको बताउनुभएको छ ।
उहाँले मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन गरेसँगै अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि सबै लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो औँल्याउनुभएको छ ।





















