logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

नेपालमा चिनियाँ कामदार चीनमा काम गर्ने नेपालीभन्दा साढे चार गुणा बढी

img
नेपालमा चिनियाँ कामदार चीनमा काम गर्ने नेपालीभन्दा साढे चार गुणा बढी

काठमाडौं, पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने चिनियाँ कामदारको संख्या ह्वात्तै बढेको छ । श्रम स्वीकृति लिएर चीनमा काम गर्न जाने नेपालीको संख्याभन्दा साढे चार गुणा बढी चिनियाँहरु नेपालमा काम गर्न आउने गरेको पाइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो पाँच वर्षमा ६ हजार १०० चिनियाँले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । सन् २०१७ देखि २०२२ मार्च १९ सम्म्मको अवधिमा ती चिनियाँ नागरिकले श्रम स्वीकृति लिएका हुन् । 

नेपालमा काम गर्न आउने विदेशी नागरिकलाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम स्वीकृति प्रदान गर्ने गर्छ । वैदेशिक रोजगार विभागका अनुसार सोही अवधिमा वैदेशिक रोजगारीको सिलसिलामा चीन जान १ हजार ३१६ जनाले श्रम स्वीकृति लिएका छन् । ‘देश भित्र अहिले चिनियाँ लगानीमा धेरै प्रोजेक्टहरु सञ्चालन भइरहेका छन् । ती प्रोजोक्टमा काम गर्न चीनले आफ्ना नागरिक ल्याएको छ । यसैकारण अन्य देशको तुलनामा चिनियाँ कामदर बढी देखिएको हो,’ श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक उमाकान्त आचार्यले भने । 

पछिल्लो पाँच वर्षमा कूल ८ हजार ५६५ जना विदेशी नागरिकले नेपालमा काम गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट श्रम स्वीकृति लिएका छन् । तीमध्ये करिव दुई तिहाई संख्या चिनियाँ नागरिकको रहेको छ । 

चिनियाँपछि नेपालमा श्रम स्वीकृति लिएर काम गर्न आउने ठूलो संख्या बेलायती, अमेरिकी, जापानी र दक्षिण कोरियालीहरुको छ । सो अवधिमा नेपालमा काम गर्न ४१६ जना बेलायती, २५० जना अमेरिकी, १८३ दक्षिण कोरियाली र १३० जना जापानीले श्रम स्वीकृति लिएका छन् । उक्त अवधिमा विश्वका ९९ देशका नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । 

चीनबाट नेपालमा आउनेको तुलनामा नेपालबाट चीनमा काम गर्न जानेको संख्या निकै सानो रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो आठ महिनामा मात्र तीन जना नेपालीले चीनमा काम गर्न श्रम स्वीकृति लिएका छन् । 

विभागका अनुसार आर्थिक वर्ष २०७७र७८ मा ११२, २०७६र७७  मा १९१, २०७५र७६ मा ४४८, २०७४र७५ मा ३३१ र २०७३र७४ मा २३१ जनाले चीन जानको लागि श्रम स्वीकृति लिएका थिए । 

नेपालबाट रोजगारीको लागि चीन जानेको संख्याभन्दा ४।६३ गुना बढी चिनियाँ कामदार कामको खोजीमा नेपाल आउने गरेका छन् । (कारखानाबाट)

img