logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

बेरुजु फर्छ्याेटलाई अभियानका रुपमा अघि बढाऔं - राष्ट्रपति

img
बेरुजु फर्छ्याेटलाई अभियानका रुपमा अघि बढाऔं - राष्ट्रपति

काठमाडाैं, राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु फर्छ्याेटलाई अभियानका रुपमा अघि बढाइनुपर्ने बताएकी छन्। महालेखा परीक्षकको कार्यालयको ६४औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा महालेखा परीक्षको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फर्छ्याेटलाई अभियानका रुपमा अघि बढाउदै आर्थिक अनुशासन पालना गर्नुपर्ने बताएकी हुन्।

महालेखापरीक्षकको प्रतिवेदनमार्फत उठेका विषयलाई केन्द्रीय संसद्, प्रदेशसभा, र स्थानीयसभाले गम्भीर रुपमा दिनुपर्ने उनले बताइन्। सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शीता अहिलेको आवश्यता भएको उनको भनाइ थियाे। राष्ट्रपति भण्डारीले मुलुकमा विकास र समृद्धिको वातावरण सिर्जना गर्न राज्यका सम्पूर्ण निकायको समन्वयात्मक प्रयास हुनुपर्ने धारणा राखिन्।

त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फछ्यौटलाई सरकारले प्रयास गरिरहेको भन्दै  वित्तीय व्यवस्था सुधारलाई प्राथमिकतामा राखिएको बताए। सार्वजनिक संस्थाहरूमा आर्थिक अनुशासन कायम गराउन पनि सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियाे। 'आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा बेरुजु फछ्र्यौटलाई प्राथमिकता दिइएको छ। महालेखा परीक्षकको कार्यालयलाई आवश्यक भौतिक तथा वित्तीय सहयोग गरिन्छ,' मन्त्री शर्माले भने। प्रतिनिधिसभा, सार्वजनिक लेखासमितिका सभापति भरतकुमार शाहले १५ वर्षअघिको कम्प्युटर, ल्यापटप, मोबाइललाई त्यस बेलाको मूल्यमा परिवर्तन गरेर बेरुजु देखाउने काम न्यायसङ्गत हुन नसक्ने बताए। देश आर्थिक अप्ठ्यारोमै रहेकाले फजुल विदेश भ्रमण र फजुल खर्च नियन्त्रण गर्न उहाँले सरकारको ध्यानाकर्षण गराए।

कार्यक्रममा महालेखापरीक्षक टङ्कमणि शर्माले यस वर्षदेखि विद्युतीय प्रणालीबाट गरिएको लेखापरीक्षणको प्रतिवेदन आउने क्रममा रहेको जानकारी गराए। उनले यसबर्ष बेरुजु फर्छ्याेटमा उत्साहजजनक काम हुन नसकेको बताए।

 

'कोभिडको छुट्टै लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिनेछ, महालेखापरीक्षकको कार्यालयको पनि अन्तर्राष्ट्रिय लेखापरीक्षकले लेखापरीक्षण गर्ने प्रावधान अनुसार थाइल्याण्डको लेखापरीक्षण संस्थाले लेखापरीक्षण गरी राम्रो काम गरेको प्रतिवेदन दिएको छ,' महालेखापरीक्षक शर्माले भने।

उनले सार्वजनिक निकायको सुशासन बहालीका लागि महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

img