logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

मच्छिन्द्र लिग च्याम्पियन बन्यो

img
मच्छिन्द्र लिग च्याम्पियन बन्यो

काठमाडौं । मच्छिन्द्र क्लब अपराजित रहँदै शहीद स्मारक ए डिभिजन लिग २०७८ च्याम्पियन बनेको छ ।

दुई खेलअघि नै उपाधि पक्का गरेको मच्छिन्द्रले शनिबार अन्तिम खेलमा एपीएफलाई २(१ ले पराजित गरेको हो । एपीएफको भने ९ खेलको अपराजित यात्रा शनिबार नै टुंगियो ।

मच्छिन्द्र अपराजित रहेर लिग जित्ने पाँचौं टोलीसमेत बन्यो । यसअघि एनआरटी, थ्रीस्टार, मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबले अपराजित रहेर लिग जितेका थिए ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रका लागि कार्यबाहक कप्तान अभिषेक गुरुङ र रेजिन सुब्बाले गोल गरे । यस्तै एपीएफका लागि प्रदीप लामाले बराबरी गोल फर्काए ।

नियमित कप्तान सुजल श्रेष्ठ दोहोरो पहेँलो कार्डका कारण एपीएफविरुद्धको खेलमा खेल्न नमिल्ने भएपछि रञ्जित धिमालले मच्छिन्द्रको कप्तानी गरेका थिए । तर चोटका कारण रञ्जित पनि खेल सुरु भएको केही मिनेटपछि नै मैदान बाहिरिएपछि अभिषेकले आर्मब्याण्ड लगाएका थिए ।

उनै अभिषेकले खेलको ४२औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । उनले आन्द्रेस नियाको पासमा गोल गरे ।

दोस्रो हाफको सुरुवात देखि आक्रामक प्रदर्शन गरेको एपीएफका लागि ६९औं मिनेटमा प्रदीप लामाले बराबरी गोल फर्काए ।

मछिन्द्रका कप्तान सुजल श्रेष्ठ, फरवार्ड नुर्लान नोभ्रुजोभ र सुनील बल जस्ता खेलाडी मैदानमा नहुँदा एपीएफले लगातार दबाबमा राख्दै गोल फर्काएको हो । एपीएफसंग गोल बेहोरेपछि मच्छिन्द्रको लगातार १२ खेलमा गोल नखाने यात्रामा पूर्णविराम लागेको छ ।

लिगको पहिलो खेलमै एनआरटीलाई २–१ ले हराउँदा ५४औं मिनेटमा एरिक विष्टले फ्रिकिक बाट गोल गर्नुबाहेक मच्छिन्द्रलाई अन्तिम खेलमा एपीएफले मात्र गोल गर्न सक्यो ।

गोलकिपर विशाल श्रेष्ठले लगातार १ हजार ९५ मिनेटमा गोल खाएनन् । एपीएफ विरुद्ध गोलकिपर विशाल निकै व्यस्त बनेका थिए ।

एपीएफले लगातार दबाब बनाएपनि ८१औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए ।

८३औं मिनेटमा मछिन्द्रका विशाल राईले बक्स बाहिरबाट शक्तिशाली प्रहार एपीएफका गोलकिपर युया कुरियामाले मुश्किलले बचाए । एपीएफले निरन्तर आक्रमण गरेपनि फिनिसिङ चुस्त हुन सकेन ।

८८औं मिनेटमा हात हालाहाल गरेपछि मच्छिन्द्रका सोनाम भुटिया र एपीएफका आवास लामिछानेले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा सीमित भएको थियो ।

सातौं मिनेटमा एपीएफका विक्की तामाङको क्रसमा आशिष लामाले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार गोलकिपर विशाल श्रेष्ठले बचाए । २०७६ मा पहिलो पटक लिग च्याम्पियन बनेको मछिन्द्रले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

यसपटक उपाधि जित्दा मछिन्द्रले अपराजित यात्रा समेत कायम राख्यो । जसमा लगातार ११ खेलमा कुनै गोल समेत खाएन ।

च्याम्पियन मछिन्द्रले लिग उपाधिसंगै नगद ७५ लाख रुपैयाँसमेत जितेको छ । शनिबारै भएको खेलमा मनाङ मर्स्याङ्दीसंग १–१ को बराबरी खेल्दै त्रिभुवन आर्मी एफसीले दोस्रो स्थानमा लिग अन्त्य गर्दै ५० लाख रुपैयाँ पक्का गर्‍यो । यस्तै एनआरटी नेपाल पुलिस क्लबलाई ३–१ ले हराएर तेस्रो भयो । एनआरटीले २५ लाख हात पार्‍यो ।

मच्छिन्द्रका विशाल श्रेष्ठ, विशाल राई र कप्तान सुजल श्रेष्ठ लगातार ४ पटक ए डिभिजन लिग जित्ने खेलाडी बनेका छन् । तीन जनाले मनाङ मर्स्याङ्दीबाट दुई र मछिन्द्रबाट दुई पटक लिग जितेका हुन् ।

img