काठमाडौं, चिनियाँ विदेशमन्त्री वाङ यी यही शुक्रबार नेपाल भ्रमणमा आउँदैछन् । नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरेको केही समयमा हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई चासोका साथ हेरिएको छ ।
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत पनि यस्ता भ्रमणले चिनियाँ चासो बुझ्ने र हाम्रा चासो चिन्ता राख्ने मौका दिने बताउँछन् । भन्छन्, ‘एमसीसीबारे उहाँको कुनै चासो चिन्ता रह्यो भने स्पष्ट पार्न हामी तयार छौं, यो कुनै प्यान्डोराज बक्स होइन भनेर बुझाउन हामी सक्छौं ।’ साथै नेपालले बीआरआई अन्तर्गतका सहयोगलाई पनि एमसीसी जस्तै अनुदानमा दिन भन्नुपर्ने उनी बताउँछन् ।