काठमाडौं, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले नियन्त्रणमा लिएको छ । बुटवलबाट जिल्ला प्रहरी कार्यालय कास्की सरुवा भएका केसीलाई आइतबार साँझ सीआइबीको टोलीले बुटवलस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो । उनीमाथि सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको आरोप लागेको थियो ।
सोही आरोपका सन्दर्भमा अनुसन्धानका लागि पुगेको सीआइबीले उनको घरबाट ३५ तोला सुन र २५ लाख नगद बरामद गरेको प्रहरीले जनाएको छ । उनी रमाना लिएर कास्की जाने तयारीमा रहँदा सिआइबीको फन्दामा परेका हुन्।
डीएसपी केसीले गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैले राखेको आरोप छ । सुन फिर्ता गर्नका लागि व्यापारीसँग २५ लाख नगद मागेको र व्यापारीले उनले मागेअनुसारकै नगद दिए पनि सुन भने फिर्ता लिन पाएका थिएनन् । सुन फिर्ता दिन नपाउँदै डीएसपी केसीलाई सीआइबीले नियन्त्रणमा लिएको हो ।
सीआइबीले नियन्त्रणमा लिएपछि उनको रमाना रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले केसी नियन्त्रणमा परेकोबारे आफूले पनि थाहा पाएको तर आधिकारिता बारे बुझ्न अनुसन्धान टोलीलाई भेट्न जान लागेको बताए।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक कमल थापाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा केसीमाथि एक्सन लिइएको बताए।
डीएसपी केसीले गत साउन १ गते तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवाद हुँदा एक वडाध्यक्षलाई लात्ति हानेर पोखरीमा फ्याँकिदिएका थिए ।
Your email address will not be published. Required fields are marked *
No comment found