काठमाडौं । अहिलेको समयमा स्मार्टफोन हाम्राे दैनिकी बनेकाे छ । फाेन प्रयोग नगर्ने मानिस विरलै भेटिएलान् । आधारभूत कामदेखि जटिल र महत्त्वपूर्ण काममा सहयाेग पुर्याउने भएकाले यसको प्रयोग तीव्र छ । कतिपयको बानी त कस्तोसम्म हुन्छ भने सुत्दा पनि फोन साथमै हुन्छ । खाना खाँदा, कतै घुम्न जाँदा वा केही काम गर्दा हामी प्रायःको स्मार्टफोन हातमै हुने गर्छ । स्मार्टफोन हातमा राखिरहँदा त्यसमा कति ब्याक्टेरिया रहेका हुन्छन् होला ? हाम्रो हातमा भएका ब्याक्टेरिया हटाउन हामीले नियमित राम्रोसँग हात धुनुपर्छ । हामीले कहिल्यै पनि आफ्नो सेलफोनलाई सफा गरेका छौँ त ? सफा यस अर्थमा कि त्यहाँ भएका ब्याक्टेरिया हटाउन कुनै विधि अपनाएका छौं त ?
सियटल टाइम्सका पत्रकार बबी क्यानियाले एउटा त्यस्तो खोज गरेका छन्, जहाँ हामीले प्रयोग गर्ने फोनमा कति ब्याक्टेरिया छन् भन्ने कुरा उल्लेख गरिएको छ ।
उनका अनुसार सेलफोनको प्रति वर्ग इन्च २५ हजार १२७ ब्याक्टेरिया हुन्छन् । यसलाई आधार बनाउने हो भने हाम्रो फोनमा औसत एक लाख ६४ हजार बढी ब्याक्टेरिया हुन्छन् । जसले गर्दा हामीले दैनिक प्रयोग गर्ने वस्तुमध्ये स्मार्टफोनलाई सबैभन्दा फोहोर वस्तुका रूपमा परिभाषित गरिएको छ ।
अनलाइन सञ्चार माध्यम माशेबलका अनुसार हाम्रो स्मार्टफोन ट्वाइलेट सिट, किचेन, कुकुरलाई खाना खुवाउने भाँडो, चेकआउट स्क्रिन, ढोकाको चुकुलभन्दा कैयौँ गुणा ब्याक्टेरियाले भरिभराउ हुन्छ ।
सर्वाधिक ब्याक्टेरिया हुने वस्तुको सूची यस्तो छ:
मोबाइल फोन ; २५,१२७ ब्याक्टेरिया प्रति वर्ग इन्च
ढोकाको चुकुल ; ८,६४३ ब्याक्टेरिया प्रति वर्ग इन्च
चेकआउट स्क्रिन; ४,५०० ब्याक्टेरिया प्रति वर्ग इन्च
कुकुरलाई खाना खुवाउने भाँडा ; २,११० व्याक्टेरिया प्रति वर्ग इन्च
किचेन काउन्टर ; १,७३६ ब्याक्टेरिया प्रति वर्ग इन्च
ट्वाइलेट सिट ; १,२०१ ब्याक्टेरिया प्रति वर्ग इन्च
त्यसैले फोन चलाउँदै खाना खानुहुन्छ भने त्यस्तो बानी हटाउन विज्ञहरूको सुझाव छ । हामी नेपालीहरू प्रायः हातले खान्छौँ । त्यसैले खाना खान हात धोइसकेपछि फोन प्रयोग नगर्नु राम्राे हुन्छ । हामीले हात धोए पनि त्यसमा नाङ्गो आँखाले नदेख्ने लाखौँ ब्याक्टेरिया रहेका हुन्छन् । त्यस्तै फोनमा पनि अनगिन्ती ब्याक्टेरिया हुन्छन् ।
त्यसैले फोन प्रयोग गर्नुअघि सेनिटाइजर प्रयोग गर्न सकिन्छ । यसरी फोनलाई ब्याक्टेरियारहित बनाएर प्रयोग गर्दा विभिन्न रोगबाट पनि बच्न सकिन्छ ।
Your email address will not be published. Required fields are marked *
No comment found